छोराछोरीहरुलाई खुवाउन आमाले आलुबखडा किनेर थाल भरि राखि दिनु भयो । सानो छोरा रुपेशले कहिले पनि आलुबखडा खाएको थिएन । उसलाई साह्रै खान मन लागेर उसले एउटा आलुबखडा सुटुक्क झिकेर क्वाप्प मुखमा हाल्यो ।
आमाले ती आलुबखडा गनेर राख्नु भएको थियो । त्यसैले एउटा कम भएको थाहा पाइहाल्नु भयो । साँझमा खाना खाने बेला आमाले छोराछोरीहरुलाई सोध्नु भयो ।
"तिमीहरु मध्ये कसैले आलुबखडा झिकेर खाएको हो की ?" सबैले एकै स्वर मा "होइन" भने ।
रुपेशको अनुहार रातो भयो । तर उसले "मैले खाएको छैन" भन्यो ।
त्यसपछि आमाले भन्नु भयो "आलुबखडा झिकेर खाने मान्छेले राम्रो गरेन तर चिन्ताको बिषय यो होइन । त्यो भन्दा ठुलो कुरो अर्को छ । आलुबखडा गेडा संगै निल्यो भने त्यो मान्छे भोलि पल्ट बिरामी हुन्छ ।"
रुपेशको अनुहार बाट रंग जति सबै उड्यो र विचारै नगरी झट्ट भनि हाल्यो, "तर मैले त गेडा झ्याल बाहिर फ्याँकिदियें ।"
उसको कुरा सुनेर सबै जना हाँसे । तर रुपेश डाँको छोडेर रुन थाल्यो ।
अभ्यास
१) ठीक भए () र बेठीक भए () लगाऊ :
क) आमाले स्याउ ल्याउनु भयो ।
ख) आमाले आलुबखडा गनेर राख्नु भएको थियो ।
ग) रुपेशको अनुहार रातो भयो ।
घ) रुपेश हाँस्न थाल्यो ।
२) कसले भनेको हो लेख ।
क) तिमीहरु मध्ये कसैले आलुबखडा झिकेर खाएको हौ की?
_________ ले ।
ख) तर मैले त गेडा झ्याल बाहिर फ्याँकिदियें ।
__________ ले ।
३) तलका प्रस्नका उत्तर लेख ।
क) आमाले के किनेर ल्याउनु भयो ?
ख) सानो छोराको नाम के थियो ?
ग) को डाँको छोडेर रुन थाल्यो ?
४) श्रुति लेखन: शिक्षकले भनेको सुन र लेख ।
आलुबखडा साह्रै सुटुक्क क्वाप्प
अनुहार फ्याँकिदियें हाँसे डाँको
Thursday, July 16, 2015
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment